काठमाडौं । निर्वाचन आयोगले चुनाव चिन्ह ‘लौरो’ स्वतन्त्र उम्मेदवारहरुको हो भनेर गरिएको प्रचार नगर्न निर्देशन दिएको छ ।
यो चुनाव चिह्न हाम्रो नेपाली पार्टीको भएको भन्दै आयोगले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’का नाममा भइरहेको प्रचार रोक्न निर्देशन दिएको हो ।
‘दलको नामबाट लौरो चिह्न प्रयोग नगरी स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान स्वतन्त्र उम्मेदवार भनी प्रचार प्रसार गरेको कार्य निर्वाचनको स्वच्छ प्रतिस्पर्धाको सिद्धान्त विपरीत देखिएको र यसले आम जनमानसमा भ्रम तथा अन्यौलता सिर्जना गर्ने भएकाले त्यस्ता भ्रमक कुराहरु प्रचार प्रसार नगर्न नगराउन अनुरोध छ’ आयोगको पत्रमा उल्लेख छ ।
आयोगले हाम्रो नेपाली पार्टीलाई स्पष्टीकरण सोध्दै स्वतन्त्र उम्मेदवारको लौरो निर्वाचन चिह्न भनेर गरिएको प्रचार कानुन सम्मत नदेखिएको जनाएको हो ।
यस्तै के आधारमा लौरोलाई स्वतन्त्र उम्मेदवारको चिह्न भनेर प्रचार गरिएको हो ? यसरी प्रचार गर्ने अधिकार कुन कानुनले दियो ? र कानुन विपरीत भ्रम सिर्जना गरेकाले कारबाही किन नगर्ने भनेर हाम्रो नेपाली पार्टी र यसका अध्यक्ष अनन्तराज घिमिरेलाई आयोगले तीन दिने स्पष्टीकरण समेत सोधेको छ ।

Leave a Comment