Latest News
Kathmandu

अन्तःशुल्क स्टिकर नेपालमै छाप्न अर्थमन्त्रीको निर्देशन

अन्तःशुल्क स्टिकर नेपालमै छाप्न अर्थमन्त्रीको निर्देशन

३० पुस, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अन्तःशुल्क ‘स्टिकर’को सुरक्षित मुद्रण नेपालमै गर्न निर्देशन दिएका छन् ।

काभ्रेको पनौतिस्थित आइटी पार्कमा जडान हुँदै गरेको सुरक्षण मुद्रण प्रिन्टिङ प्रेसको बिहीबार निरीक्षण गर्दै उनले अर्थ मन्त्रालयलाई आवश्यक स्टिकर तत्कालै उपलब्ध गराउन सुरक्षण मुद्रण केन्द्रलाई निर्देशन दिए । ‘हामीलाई करिब ३ अर्ब पिस स्टिकर चाहिँदो रहेछ । त्यो स्टिकर छाप्न यस्ता मेसिन कति चाहिन्छन्, तत्काल ल्याएर जडान गर्न आग्रह गर्छु,’ मन्त्री शर्माले भने, ‘कमसेकम अर्थ मन्त्रालयलाई आवश्यक पर्ने स्टिकर उपलब्ध गराउनुहोस् ।’

उनले अब एक वर्षको अवधिमा मन्त्रालयलाई आवश्यक पर्ने परिमाणको स्टिकर छाप्न सक्ने गरी व्यवस्था गर्न निर्देशन दिए । जडान हुँदै गरेका अत्याधुनिक मेसिनले नोटबाहेक अन्य सबै किसिमका मुद्रण गर्ने जानकारी आफूलाई दिइएको भन्दै उनले यसको ठूलो बजार समेत रहेको उल्लेख गरे । बैंक, यातायात, मालपोतलगायतका विभिन्न क्षेत्रको काम यसले पाउनसक्ने उनको भनाइ छ ।

आफूले सुरक्षण प्रिन्टिङ प्रेसमा नाफा मात्रै देखेको भन्दै मन्त्री शर्माले यसको लागि सरकार लगानी गर्न नहिच्किचाउने बताए । ‘धेरै ठूलो व्यापार गर्न सक्ने भएकाले यसमा गर्ने लगानी नाफाका लागि हो’, उनले भने, ‘यहाँ मैले घाटा देखिनँ । नाफा मात्रै हुने ठाउँमा लगानी गर्न सरकारले पनि हिच्किचाउनुपर्छ जस्तो मलाई लाग्दैन ।’

उनले नेपालमा कुनै पनि हालतमा चोरी नहुने तथा नक्कली स्टिकर बनाउन नमिल्ने स्तरको सुरक्षित स्टिकर छाप्नुपर्ने बताए । सुरक्षण मुद्रण केन्द्रले सो माग परिपूर्ति गर्ने उनको विश्वास छ । यसबाट अरबौंको राजस्व चुहावटलाई नियन्त्रण गर्न सकिने विश्वास उनले व्यक्त गरे । ‘यहाँ प्रिन्ट गरेर अरबौंको फाइदा मात्र गर्ने होइन, अरबौंको राजस्व थप असुल हुने पनि देखिन्छ । अहिले मन्त्रालयले अन्तः शुल्क स्टिकरबाट करिब एक खर्ब बराबरको राजस्व उठाउने गरेको छ’, उनले भने भने, ‘यस्ता स्टिकरले सुशासन कायम गर्नसमेत सहयोग गर्छ ।

हाल स्टिकर छाप्ने काम जनक शिक्षा सामग्री केन्द्रले गर्दै आएको छ । आन्तरिक राजश्व विभागका महानिर्देशक शोभाकान्त पौडेलका अनुसार दुई वर्षदेखि जनक शिक्षाले करिब २२ करोडमा स्टिकर छाप्दै आएको छ । यसअघि ‘ग्लोबल टेन्डर’ मार्फत् स्टिकर छापिँदै आएको थियो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सुदूरपश्चिम प्रदेशमा माघ २ गते सार्वजनिक विदा
पछिल्लो समाचार →
भारतमा थपिए २ लाख ६४ हजार नयाँ कोरोना संक्रमित

Leave a Comment

Your email address will not be published. Required fields are marked *