Latest News
Kathmandu

कोरोना महामारीकै बीच आन्तरिक उडानमा ३५ लाख बढी यात्रुले गरे यात्रा

कोरोना महामारीकै बीच आन्तरिक उडानमा ३५ लाख बढी यात्रुले गरे यात्रा

३० पुस, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को महामारीका बीच आन्तरिक उडानमा सर्वाधिक यात्रुले हवाई यात्रा गरेको रेकर्ड कायम भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्यांक अनुसार सन् २०२१ मा कुल ३५ लाख ९ हजार ७ सय १८ जना यात्रुले आन्तरिक तर्फ हवाई यात्रा गरेका छन् । यो आन्तरिक तर्फ अहिलेसम्मकै उच्च हो । सन् २०२० मा हवाई यात्रा सबैभन्दा बढी खुम्चिएको थियो । सो वर्ष कडा लकडाउनको सामना गरेका वायुसेवा कम्पनीले त्यसपछि खुलेको समयमा यात्रु आकर्षित गर्न आकर्षक प्याकेज ल्याएका थिए ।

यति एयरलाइन्स र बुद्ध एयरले आन्तरिक ट्राभल प्याकेज नै ल्याएर यात्रु आकर्षित गरेका थिए । यसको प्रभाव आन्तरिक उडानमा देखिएको छ । सन् २०२० मा मात्र १४ लाख ५७ हजार ५ सय ३९ यात्रुले यात्रा गरेका थिए । त्रिभुवन विमानस्थलबाट १७ लाख ९१ हजार १ सय ४५ यात्रु बाहिरिएका थिए । १७ लाख १८ हजार ५ सय ७३ जना यात्रु काठमाडौं भित्रिएका थिए ।

यात्रुको तथ्यांक 

वर्ष बाहिरिने यात्रु भित्रने यात्रु कुल यात्रु
२०१५ ६,८३,१३० ६,८०,९१८ १३,६४,०४८
२०१६ ८,८०,८९८ ८,७६,७०१ १७,५७,५९९
२०१७ १२,४९,८५७ १२,०१,५३३ २४,५१,३९०
२०१८ १४,२०,५८० १३,७५,६९४ २७,९६,२७४
२०१९ १६,५१,२३० १५,३७,२४९ ३१,८८,४७९
२०२० ७,५१,६६२ ७,०५,८७७ १४,५७,५३९
२०२१ १७,९१,१४५ १७,१८,५७३ ३५,०९,७१८

बुद्धले बोक्यो सर्वाधिक यात्रु

आन्तरिक उडानमा बुद्ध एयरको बजार हिस्सा सबैभन्दा धेरै रहेको छ । त्रिभुवन विमानस्थलको तथ्यांक अनुसार बुद्धले सन् २०२१ मा कुल १९ लाख १३ हजार २९ जना यात्रुलाई सेवा दिएको छ । दोस्रो स्थानमा यति एयरलाइन्स रहेको छ । यतिले यो वर्ष कुल ८ लाख १ हजार १ सय ६४ जना यात्रु बोकेको छ । तेस्रो स्थानमा श्री एयरलाइन्स रहेको छ । श्रीले एक वर्षको अवधिमा ५ लाख ४० हजार ३ सय ९८ जना यात्रुलाई सेवा दिएको तथ्यांक छ ।

चौथो स्थानमा सौर्य एयरलाइन्स रहेको छ । उसले एक वर्षमा १ लाख ३४ हजार १ सय ५३ यात्रु बोकेको तथ्यांक छ । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको भने आन्तरिक उडानमा नगन्य हिस्सा रहेको छ । एक वर्षमा नेवानिमार्फत मात्र २० हजार २ सय ८ जना यात्रुले सेवा लिएको तथ्यांक छ । बुद्धले एक वर्षमा कुल ३४ हजार ५ सय ३६ वटा उडान गर्दा नेवानिले मात्र १६७९ उडान मात्र गर्न सकेको छ । जसले नेवानिको बजार हिस्सा निकै कमजोर देखिन्छ ।

पुनः कोरोनाको डर

आन्तरिक वायुसेवा कम्पनीलाई कोरोना भाइरसको तेस्रो लहरले भने डर थपेको छ । सरकारले अहिले यात्रामा प्रतिवन्ध लगाउने गरी कुनै निर्णय गरिसकेको छैन । तर, हवाई यात्राका दौरान खोप कार्ड भने अनिवार्य गर्दैछ । यो निर्णय माघ ७ बाट कार्यान्वयनमा ल्याउने गरी लागु गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सिफारिस गरिसकेको छ । यसले पुनः हवाई यात्रा भने प्रभावित हुने डर वायुसेवा कम्पनीसँग छ ।

बुद्ध एयरले बिहीबार एक सर्वेक्षणको नतिजा सार्वजनिक गर्दै हवाई यात्रुमध्ये ९५ प्रतिशतसँग खोप कार्ड भएको उल्लेख गरेको छ । यसले हवाई यात्रा अझ सुरक्षित हुने र आगामी दिनमा यात्रा प्रभावित नहुने विश्वास कम्पनीले लिएको छ । वायुसेवा कम्पनीहरुले हवाई यात्रामा दौरान लागु गरेको प्रोटोकलका कारण सार्वजनिक सडक यातायातको तुलनामा हवाई यात्रा सुरक्षित रहेको समेत कम्पनीहरुको दावी छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
फुडमान्डुमा डोल्मा इम्प्याक्ट फन्डको ४६ करोड लगानी
पछिल्लो समाचार →
प्रमोसनल गीत खिच्दै ‘म यस्तो गीत गाउँछु २’ टिम, रिलिज भने अन्योलमा

Leave a Comment

Your email address will not be published. Required fields are marked *