
३ माघ, काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मुल्य २ रुपैयाँ बढ्यो भने विद्यार्थी संगठनहरुले आन्दोलन गर्छन् । चक्काजाम, हड्तालदेखि आयल निगम घेराउ गर्दै नेताहरु कहाँ ज्ञापन पत्र बुझाउन विद्यार्थी नेताहरुको लाइन लाग्छ । तर, खानेतेल लगायत अत्यावश्यक वस्तुको एकैसाथ सयौँ रुपैयाँ भाउ बढ्दा पनि कुनै पनि संगठन बोल्दैनन् । भनौँ उनीहरुको ध्यान पुग्दैन । ठीक त्यस्तै अर्को वस्तुमा मनोमानी भाउ बृद्धि र कालोबजारी हुँदा पनि सरोकारवाला निकायको ध्यान पुग्न सकेको छैन । त्यो हो–मदिरा ।
केही महिना अघि चाडबाडमा जनस्वास्थ्य ऐन विपरित अधिकांश मदिरा उत्पादक कम्पनिहरुले पत्रपत्रिका तथा सञ्चार माध्यममा ज्याकेट विज्ञापन प्रकाशन गरेका थिए । यसरी प्रचार गर्नेमा पहिलो नम्बरमा थियो–खुकुरी रम । आश्चर्य त के थियो भने नर्भिक अस्पतालको मिडिया हेर्ने पिआर डिपार्टमेन्टबाट मिडियाहरुमा विज्ञापन पठाइएको थियो । बिएलसी होल्डिङको नामबाट मिडियालाई उपलब्ध गराइएको उक्त विज्ञापन जनस्वास्थ्य ऐन विपरित भएको पाइएपछि विज्ञापन बोर्डले ऐन अनुसार कारबाही गर्ने चेतावनी दिएको थियो तर, कारबाही भएन ।
यसरी जनस्वास्थ्य ऐन विपरित विज्ञापन गर्दै आएको खुुकुरी रम उत्पादक कम्पनिले एकैसाथ सयौँ रुपैयाँ भाउ बढाएको पाइएको छ । नर्भिक अस्पतालका मालिक समेत रहेका बसन्त चौधरीद्वारा सञ्चालित दि नेपाल डिस्टिलरिज प्रा.ली बालाजुले अस्वभाविक रुपमा ‘खुकुरी रम’को भाउ बढाएको हो ।
गत पुस २६ गते सार्वजनिक गरिएको मुल्यसूची अनुसार ७५० एमएल खुकुरी स्पाइस्ड रमको उपभोक्ता मुल्य २ हजार १ सय रुपैयाँ पुगेको छ । जबकी यसअघि यही परिमाणको रमको मुल्य १ हजार ८ सय रुपैयाँ रहेको खुद्रा व्यापारीले दियोपोस्टलाई जानकारी दिए ।
त्यस्तै यसअघि ९ सय रुपैयाँ रहेको ३ सय ७५ एमएलको खुकुरी रमको मुल्य बृद्धि गरेर एक हजार ५० रुपैयाँ पुर्याइएको छ । यसअघि ४ सय ५५ रुपैयाँ तिरेर उपभोक्ताले पिउँदै आएको १ सय ८० एमएल खुकुरी रमको भाउ बढाएर ५ सय २५ रुपैयाँ पुर्याइएको छ । त्यस्तै ९० एमलेको रमको भाउ बढाएर २ सय ६५ पुर्याइएको छ ।
खुद्रा व्यापारीहरुका अनुसार यो मुल्यबृद्धि करिब २० प्रतिशत हाराहारी हो । यसरी मुल्यबृृद्धि गर्दा कुनै पनि सरकारी निकायको अनुमति समेत नलिइएको नेपाल डिस्टिलरिजका एक उच्च तहका कर्मचारीले दियोपोस्टलाई बताए ।
एकातिर अस्पताल, अर्कोतिर ‘औषधी’को रुपमा मदिराको प्रचार !
जाडो वा चिसोमा के खानुहुन्छ वा कुन कुराले मानव शरिरमा असर गर्छ गर्दैन भन्ने विषयमा स्वास्थ्यकर्मी वा चिकित्सकले सल्लाहा दिनुपर्ने हो । तर, नर्भिक अस्पताल लगानीकर्ता चौधरीकै लगानी रहेको खुकुरी रमको फेसबुकमा भने चिसो भगाउन हिटर ताप्ने होइन खुकुरी रम पिउनुपर्छ भन्दै विज्ञापन गरेको छ ।
मदिरा स्वास्थ्यको लागि हानिकारक बस्तु हो । तर, अस्पताल सञ्चालक चौधरीले दाहोरो धन्दा गर्दै आएका छन् । एकातिर नर्भिक अस्पताल सञ्चालन गरेका छन् भने अर्कोतिर खुकुरी रम नामक मदिरा उत्पादक कम्पनि चलाएका छन् । चौधरी र एक गैरआवाशिय नेपाली मिलेर भारतीय नागरिकसँग खुकुरी रम उत्पादन गर्ने दि नेपाल डिष्टिलरी केही वर्षअघि खरिद गरेका हुन् ।