Latest News
Kathmandu

बालुवाटार जग्गा प्रकरण : भूमाफिया विरुद्ध पक्राउ पुर्जी यथावत, जुनसुकै बेला पक्राउ पर्न सक्ने !

बालुवाटार जग्गा प्रकरण : भूमाफिया विरुद्ध पक्राउ पुर्जी यथावत, जुनसुकै बेला पक्राउ पर्न सक्ने !

३ माघ, काठमाडौं । ललिता निवासको सरकारी जग्ग किर्ते तथा घोटाला प्रकरणमा सरकारी वकिल कार्यालयले थप अनुसन्धानका लागि सिआइबीलाई नै फर्काउने निर्णय गरेपनि अन्ततः भूमाफियाहरु पक्राउ पर्ने नै देखिएको छ ।
प्रहरी अनुसन्धान ब्युरो स्रोतका अनुसार जग्गा हिनामिना प्रकरणमा जिल्ला अदालत काठमाडौंबाट जारी भएको पक्राउ पूर्जी यथावत छ ।

पक्राउ पर्ने डरले नै यो प्रकरणमा प्रमुख खलपात्रहरु फरार छन् । स्रोतका अनुसार ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणका नाइके तथा भाटभटेनी सुपर मार्केटका मालिक मिन बहादुर गुरुङ, कैलाश चन्द्र गोयल, श्रवण गोयल, पूर्वअख्तियार प्रमुख दिप बस्न्यात, शोभाकान्त ढकाल, सुहृदराज घिमिरे, पुरुषोत्तम पौड्याल, गोविन्द संघाई लगायत ३ सय ५० जनाभन्दा बढी विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएपछि यी भूमाफियाहरु फरार छन् । नेपाल लाईफका अध्यक्ष गोविन्दलाल संघाई भने खुलमखुल्ला हिँडिरहेको स्रोतले जनाएको छ ।

मिन बहादुर गुरुङ, कैलाशचन्द्र गोयल र दिप बस्न्यात भने फरार रहेको स्रोतले बताएको छ । उनीहरु जुनसुकै बेला पनि पक्राउ पर्न सक्ने स्रोतले जनाएको छ ।

‘सरकारी वकिलको कार्यालयले थप अनुसन्धानका लागि फाइल पठाएको छ । अर्कोतिर अदालतले पक्राउ पूर्जी जारी गरिदिएको छ,’ स्रोतले भन्यो,‘यसरी हेर्दा उनीहरु जुनसुकै बेला पनि पक्राउ पर्न सक्नेछन् ।’ललितानिवासको सरकारी जग्गा हिनामिनाका मुख्य नाइके मिनबहादुर गुरुङविरुद्ध यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा ५० करोड भन्दा बढी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको थियो ।

 

ललिता निवासको ११२ रोपनीजग्गामध्ये आधाभन्दा बढी जग्गा गुरुङले शोभाकान्त ढकाल र रामप्रसाद सुवेदीलगायतसँगको मिलोमतोमा खरिद गरेका थिए । सिआईबीले केहीदिन अघि रामकुमार सुवेदी र उनकी पत्नि माधवी सुवेदीलाई पक्राउ गरेको थियो । उनीहरुलाई बयान लिएर छाडिएको थियो । सुवेदी दम्पत्तिले नै २२ रोपनी जग्गा आफ्नो नाममा राखेका छन् ।

 

नक्कली मोही खडा गरेर भाटभटेनीका मालिक गुरुङले नै सबैभन्दा बढी जग्गा आफन्त र नातागोता मात्रै होइन विभिन्न व्यापारीलाई बेचेका थिए । गुरुङले भाटभटेनी डेभलपर्स प्रालिका नाममा १० कित्ता जग्गा राखेका छन् । उनै गुरुङले बालुवाटारको सरकारी जग्गा अर्बपति व्यापारी सुहृद घिमिरेको सासु आमा इन्दु शर्मा र व्यावसायीक साझेदार पुरुषोत्तम पौड्यालको नाममा समेत विक्री गरेका थिए ।

 

त्यस्तै, आफूलाई स्वघोषित रुपमा देशकै नं. १ जीवन बीमा कम्पनी भएको दावी गर्दै आएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष गोविन्दलाल संघाई विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो । गोविन्दलाल संघाईले ललिता निवासको सिट नम्बर १०२५–१५ मा कित्ता नम्बरहरु ५०१, ४५७, ५००, ४९७ र ४८९ का जग्गाहरु कीर्ते गरी आफ्नो नाममा पारेका थिए । जग्गाकाण्डमा पक्राउपूर्जी जारी भएपनि संघाई ठूलाबडाको पहुँच देखाउँदै काठमाडौंमै घुमिरहेका छन् ।

२०६९ सालमा दुग्ध विकास संस्थान (डीडीसी)को ठेक्का पार्न सरकारी कागजात कीर्ते गरी नक्कली कर चुक्ता प्रमाण पत्र पेश गरेको अभियोगमा गोविन्दलाल संघाई पक्राउ परेका थिए ।

 

मारवाडी सेवा समितिका अध्यक्ष समेत रहेका कैलासचन्द्र गोयलले ललिता निवासको करिब २५ रोपनी जग्गा आफ्नो नाममा दर्ता गरेका थिए । गोयल नेपालमा ब्यापार भन्दा पनि अदालतमा बिचौलियाको काम गरी अरबौंपति भएका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र उनका भाई प्रभुसँग सेटिङ मिलाएर गोयलले विचौलियाको काम गर्दै आएका छन् । गोयल ट्रेडमार्क चोरीका अभियुक्त समेत हुन् । गोयलको सेटिङका कारण सक्कली ट्रेडमार्कको हकदार कन्साइले उद्योग विभागमा मुद्दा हारेको थियो । उनी पनि यतिबेला फरार रहेको स्रोतले जनाएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
दाङका गुण्डा नाइके विकास पुन काठमाडौंमा पक्राउ : गोली प्रहार लगायत आधा दर्जन मुद्दामा फरार !
पछिल्लो समाचार →
दैनिक २० हजार संक्रमित थपिन सक्छन्, बेड अभाव हुनसक्छ

Leave a Comment

Your email address will not be published. Required fields are marked *