
काठमाडौं ।, नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी युवा खेलाडीका लागि अवसर दिने मामलामा अघि छन् । नेपालको प्रशिक्षक भएयता नै उनले सुरुवातदेखि नयाँ खेलाडीलाई अवसर दिँदै आएका छन् ।
शनिबार नेपालले अफ्रिकन राष्ट्र मरिससविरुद्ध पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दा पनि अलमुताइरीले दुई खेलाडीलाई डेब्यू गर्ने अवसर दिए । दशरथ रंगशालामा भएको खेलमा विमल घर्ती मगरले दुई वर्षभन्दा बढी समयपछि राष्ट्रिय टिममा पुनरागमन गर्दै गोल गरेपछि नेपालले मोरिससलाई १-० ले हरायो । यस खेलको अन्त्यतिर मिडफिल्डर सुदीप गुरुङ र आकाश बुढा मगरले वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गर्दै डेब्यू गरे ।
सुदीपले ८५ मिनेटमा सुरजज्यु ठकुरी र आकाश ईन्जुरी टाइममा तेज तामाङको स्थानमा मैदान प्रवेश गरेका थिए । संयोगबस यी दुवै खेलाडी घरेलु फुटबल एउटै क्लब सातदोबाटोबाट खेल्छन् । शहीद स्मारक ए डिभिजन लिगमा पहिलो पटक खेलिरहेका सातदोबाटो युथ क्लबका लागि दुवैले राम्रो प्रदर्शन गरिरहेका छन् ।
सुदीप र आकाशसँगै सातदोबाटोका अर्का खेलाडी प्रशान्त अवस्थी पनि शनिबार मोरिससविरुद्ध खेल्ने टिममा थिए । तर, उनले खेल्ने अवसर भने पाएनन् । हिलो खेलका लागि यी तीनसँगै जावलाखेल युथ क्लबका गोलकिपर टिकेन्द्र थापा गरी चार खेलाडी पहिलो पटक राष्ट्रिय टिममा परेका थिए ।
यस्तै, मंगलबार हुने मोरिससविरुद्धको दोस्रो खेलका लागि अलमुताइरीले घोषणा गरेको नेपाली टिममा अन्य ५ नयाँ खेलाडी छन् । त्यस खेलमा पनि नयाँ खेलाडी खेलेमा उनको प्रशिक्षणमा डेब्यू गर्नेको संख्या बढ्नेछ । सुदीप र आकाशले शनिबार खेलेपछि अबदुल्लाह अलमुताइरीको प्रशिक्षणमा नेपालबाट डेब्यू गर्ने खेलाडी १० पुगेका छन् ।
गत चैतमा नेपालको प्रशिक्षक बनेका अलमुताइरीले एक वर्ष पनि नबित्दै १० खेलाडीलाई डेब्यु गराइसकेका हुन् । त्यसमा उनले नेपाली टिम सम्हालेको पहिलो खेलमा नेपालले ईराकविरुद्ध मैत्रीपूर्ण खेल खेल्दा गौतम श्रेष्ठ र मनिष डाँगीलाई डेब्यू गराए । यस्तै कुवेतमा भएको विश्वकप छनोटअन्तर्गत अष्ट्रेलियाविरुद्धको खेलमा कमल थापा, आयुष घलान र सुरजज्यु ठकुरीले ईन्जुरी टाइममा खेल्दै डेब्यू गरे ।
यसैगरी नितिन थापा, विशाल श्रेष्ठ र राजन गुरुङले भारतविरुद्ध दशरथ रंगशालामै भएको खेलमा डेब्यू गरे । अलमुताइरीको आगमनपछि दशरथ रंगशालामै नेपालका लागि डेब्यू गर्ने खेलाडी पाँचजना भइसकेका छन् । नयाँ खेलाडीलाई डेब्यू गराउँदै एक्पोजर र अनुभव बटुल्ने माौका दिएका अलमुताइरीले दोस्रो खेलमा पनि केही खेलाडीलाई डेब्यू गराउन सक्ने सम्भावना छ ।