Latest News
Kathmandu

काठमाडौं महानगरपालिका सम्पदा मासेर ‘व्यावसायिक कम्प्लेक्स’ बनाउँदै

काठमाडौं महानगरपालिका सम्पदा मासेर ‘व्यावसायिक कम्प्लेक्स’ बनाउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाको २७ नं वडा कार्यालयको निर्माणाधीन भवन विवादमा परेको छ । ऐतिहासिक फल्चा रहेको ठाउँमा व्यावसायिक प्रयोजनसहितको वडा कार्यालय भवन बनाउन शिलान्यास गरिएको भन्दै स्थानीयले त्यसको विरोध गरेका हुन् ।

ठमेलस्थित अहिले ज्याठामा रहेको मल्लकालीन छुस्याबहालको सम्मुखमा बहीलाछी फल्चा थियो भन्ने स्थानीयको दाबी छ । यसको सांस्कृतिक एवं ऐतिहासिक महत्वलाई त्यहाँ रहेको शिलालेखले समेत स्पष्ट पारेको भन्दै वडा कार्यालयको ठाउँमा फल्चा पुनर्निर्माण गर्न गुठियार एवं स्थानीयले माग गरेका छन् ।

१०० वर्षअघिसम्म सो क्षेत्रमा फल्चा रहेको प्रमाण रहेको भन्दै गुणाकीर्ति महाविहारका गुर्जु एवं अन्य स्थानीयले वडा कार्यालयमा निवेदन दिएका थिए । तर वडाले सोको बेवास्ता गरेको उनीहरुको आरोप छ ।

शिलालेख विशेषज्ञ सिद्धिरत्न शाक्य छुस्याबहालभित्र रहेको एउटा शिलालेखले अहिले वडा कार्यालय भवन बनिरहेको ठाउँमा फल्चा रहेको प्रमाण दिने बताउँछन् । तहलाछी टोलका गुणज्योति र उनका परिवारले उक्त फल्चा बनाएको भन्ने कुरा सो अभिलेखमा लेखिएको शाक्य बताउँछन् ।

‘गुणकीर्ति महाविहारको निर्माण पूरा गरेपछि लोकहित र सबैलाई सुख होस् भन्नको लागि त्यो पाटी बनाइएको रहेछ ।’ उनले अनलाइनखबरसँग भने ‘पाटीसँगै थप जग्गा समेत राखिएको भन्ने कुरा सो अभिलेखमा भेटिन्छ ।’

त्यो पार्टीमा हरहर लोकेश्वरको प्रतिमा राखिएको थियो । कसैले सो पाटी भत्कायो भने पञ्च महापाप लाग्छ भन्ने व्यहोरा शिलालेखमा उल्लेख गरिएको छ । सो पार्टीको संरक्षण गर्नु सबैको दायित्व रहेको भन्दै त्यसको संरक्षण गर्नेलाई १००० वटा विहार बनाएको र कोटी यज्ञ गरे बराबरको पुण्य प्राप्त हुने कुरा अभिलेखमा लेखिएको शाक्य बताउँछन् ।

त्यस्तै, सम्पदा अभियान्ता आलोकसिद्धि तुलाधर मल्लकालीन सम्पदा रहेको ठाउँमा व्यावसायिक प्रयोजन सहितको वडा कार्यालय भवन बनाउन खोज्नु दुखद् रहेको बताउँछन् । १०० वर्षअघिसम्म सो ठाउँमा फल्चा रहेको र त्यो गाईजात्राको दिन नगरपरिक्रमा गर्नेहरुले विश्राम गर्ने स्थल समेत रहेको भन्दै त्यसलाई मास्न नहुने तर्क गर्छन् ।

‘फल्चा र बहालको बीचमा बाटो थिएन तर २०१८ सालमा गणेशमान शक्तिमा आएपछि बीचबाट बाटो राखियो ।’ तुलाधर भन्छन् ‘२१ सालभन्दा पहिले बहालको नापनक्सा हुँदासम्म रम्यकुटाकार शैलीको चैत्य अहिले वडा कार्यालयको भवन बन्न लागेका ठाउँमा थियो । एकमहिना लगाएर त्यो भित्र ल्याएको भन्ने कुरा चैत्यको पादपीठमा रहेको शिलालेखमै उल्लेख छ ।’

त्यस्तै, पाटीको थामलाई अड्याउनको लागि राखिने ढुंगाबाट बनेको इल्वहँ पनि अहिले निर्माणाधीन भवनमा भेटिएको छ । त्यसको चारवटा अवशेष पनि अझै भेटिन्छ । त्यसैले त्यही ठाउँमा पाटी थियो भनेर दाबी गर्न सकिने शिलालेख विशेषज्ञ शाक्य बताउँछन् । जग राख्नको लागि खनिएको ठाउँमा पुराना जस्ता देखिने इँटा समेत भेटिएको छ।

पुरातत्व विभागको चासो

सो ठाउँमा रहेको वय्लाछीलाई पुरातत्व विभागले पनि सांस्कृतिक महत्वको ठाउँ भन्दै ध्यानाकर्षण भएको जनाएको छ । माघ २७ गते विभागका पुरातत्व अधिकृत देवेन्द्र भट्टराईले वडा कार्यालयलाई लेखेको पत्रमा वय्लाछी आफैँमा सांस्कृतिक महत्वयुक्त सम्पदा रहेको भन्दै त्यो ठाउँमा निर्माण गर्दा कुनै असर पर्ने/नपर्ने यकिन नहुँदासम्म निर्माण कार्य रोक्न आग्रह गरिएको छ । सो पत्रको जवाफमा बन्नलागेको भवनको डिजाइन एवं लालपूर्जाको फोटोकपी समेत पठाउन लागिएको २७ नं वडाका वडाध्यक्ष चिनियाँमान बज्राचार्यले जानकारी दिए ।

त्यसो त छुस्याबहालमा भेटिएको रम्यकुटाकार शैलीको चैत्यले स्थानीयले दाबी गरे अनुसार छुस्याबहाल अघि फल्चा थियो भन्ने पुष्टि गरेको छ । संरचनामा कुनै समय फल्चा थियो भन्ने कुरालाई पुष्टि गर्ने जानकारहरुको बुझाइ छ ।

त्यसो त छुस्याबहालको सम्मुखमा एउटा पाटी थियो भन्ने कुरालाई पुष्टि गर्ने अर्काे आधार बहालभित्र रहेको एउटा अभिलेख पनि हो । नेपाल संवत् ७८८ मा राखिएको सो अभिलेखमा बहालको सम्मुखमा एउटा पाटी र जग्गा थियो भन्ने कुरा उल्लेख गरेको छ ।

निर्माणबारे के भन्छ महानगरपालिका ?

उता काठमाडौं महानगरपालिकाले भने अहिले वडा कार्यालय बनाउन लागिएको ठाउँमा फल्चा थियो भन्ने तर्कको प्रमाण नरहेको बताउँछन् । अहिले महानगरपालिकाको र स्थानीय युवा क्लबको नाममा जग्गा रहेको भन्दै यदि फल्चा थियो भन्ने प्रमाण जुटाउन सके १० दिनभित्र फल्चा निर्माणको काम सुरु गर्ने बताए ।

वडा कार्यालय भवन निर्माणको विषयमा वडाध्यक्ष चिनियाँमान बज्राचार्य भन्छन् :

अहिले हामीले वडा नं २७ को कार्यालयको निर्माणाधीन भवन ज्याठा सामुदायिक क्लबको ४ आना र बौद्धिक विकास नाम गरेको स्कुलको नाममा रहेको जग्गामा बनाइएको हो । बौद्धिक विकास नामक स्कुल अहिले बन्द भइसकेको छ । ज्याठा क्लबभित्रको ४ आना जग्गामा अहिलेसम्म पनि भवन थियो ।

काठमाडौं महानगरपालिकामा नयाँ जनप्रतिनिधि आएपछि हरेक वडाको आफ्नै भवन बनाउने निर्णय भए बमोजिम हामीहरुले नयाँ भवन निर्माण गर्न ठाउँ खोज्दै गएका थियौं । सोही क्रममा ज्याठा क्लबले महानगरपालिकासँग मिलेर भवन बनाउने योजना बनायो ।

अहिले हामीले बनाउन लागेको भवन पनि मल्लकालीन शैलीमा बनाउन लागिएको हो । त्यसको माथिल्लो २ तला वडा कार्यालयको लागि, एक तला क्लबको लागि, एक तलाको हल र पुछार तलामा पसल राख्ने योजना बनाइएको छ ।

अहिले छुस्याबहालसँग फल्चा रहेको दाबी गरिएको ठाउँलाई बाटोले छुट्याएको छ । उहाँहरूले भनेको फल्चाको तस्वीर र लालपुर्जा नभएकोले हामीहरूले भवन बनाउन लागेको हो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
कैलालीमा नेपाली कांग्रेस सभापतिको मतगणना १० बजेपछि
पछिल्लो समाचार →
सेनाले डिस्पोज गर्दै,शंकास्पद कुकर बानेश्वर सडकमा

Leave a Comment

Your email address will not be published. Required fields are marked *