युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौं । ग्रिसको एथेन्स शहरमा सन् १८९६ मा भएको पहिलो ओलम्पिकमा समावेश गरिएका ९ खेलमध्ये एक थियो– फेन्सिङ । यसअर्थमा फेन्सिङलाई ओलम्पिककै सबभन्दा पुरानो खेलभन्दा फरक पर्दैन । तर नेपालमा भने फेन्सिङ आफ्नो पहिचान स्थापित गर्न संघर्षरत छ । मार्सलआर्टको एउटा विधा भएपनि फेन्सिङ न देशव्यापी रुपमा फैलिन सकेको छ, न सरोकारवालाले ध्यान तान्न सकेका छन् ।

राष्ट्रिय प्रतियोगिता नै अहिलेसम्म जम्मा पाँच वटा भएको छ । काठमाडौंमा अहिले वीर गणेशमान सिंह स्मृति राष्ट्रिय फेन्सिङ प्रतियोगिता भइरहेको छ, जसलाई राष्ट्रिय च्याम्पियनसिपको मान्यता दिइएको छ । २००९ मा फेन्सिङ संघ स्थापना भएर २०१५ मा ओलम्पिक मान्यता पाएयता निजी क्षेत्रबाट आयोजित यो पहिलो राष्ट्रिय प्रतियोगिता हो ।

सातौं राष्ट्रिय खेलकुद–२०७३ मा यो खेललाई पहिलोपल्ट समावेश गरिएको थियो । फेन्सिङको नेपाली टोलीले २०१४ को इन्चोन एसियाली खेलकुद र २०१८ को जाकार्ता एसियाली खेलकुददेखि १३औं दक्षिण एसियाली खेलकुदमा नेपालले सहभागिता जनाएको छ । विश्व फेन्सिङ महासंघ अन्तर्गतको विश्व च्याम्पियनसिप, एसियाली च्याम्पियनसिप र दक्षिण एसियाली च्याम्पियनसिपमा पनि नेपालको नियमित सहभागिता छ ।

वर्षको एउटा राष्ट्रिय प्रतियोगिता र नियमित अन्तर्राष्ट्रिय सहभागिताका बाबजुद नेपालमा फेन्सिङ खेलले आफूलाई मूलभूत विधाको रुपमा स्थापित गर्न सकेको छैन । संघकै पदाधिकारी पनि यसलाई स्वीकार्छन् । ‘हामी ओलम्पिक मान्यताप्राप्त कान्छो संघ हौं,’ फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठ भन्छन्, ‘स्थापनादेखि नै हामी सक्रिय छौं । सुस्त गतिमै भए पनि हामीले यो खेल विस्तार गरिरहेका छौं ।’

तर सीमित राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिता मात्र हुने अरु खेललेझैं खेलाडीहरु पलायनको समस्या फेन्सिङले पनि झेलिरहेको छ । ‘मार्सलआर्टकै विधा भएपनि यो खेल अन्यको तुलनामा महंगो छ । सुरुवात गर्नकै लागि पनि साढे दुईदेखि तीन लाख रुपैयाँसम्म खर्च गर्नुपर्छ,’ सन् २०१९ मा आयोजित १३औं दक्षिण एसियाली खेलकुद (साग)मा ४ रजत र ६ कांस्य जितेको फेन्सिङ संघका महासचिव श्रेष्ठले भने, ‘अन्य खेल संघजस्तै हाम्रो संघमा पनि आर्थिक अभाव छ । नियमित प्रतियोगिता र अन्य कार्यक्रम गर्न सकिएको छैन । अहिले त खेलाडी टिकाउनै मुस्किल भइरहेको छ ।’

ओमकार सिंह नेपाली फेन्सिङको सुरुवाती चरणदेखि अहिलेसम्म सक्रिय सीमित खेलाडीमध्ये एक हुन् । गणेशमान सिंह स्मृति प्रतियोगितामा दुई स्पर्धामा स्वर्ण जितेका उनको अनुभवमा अहिलेसम्म खेलाडीहरुले प्रतिफलको आशा नगरी योगदान गरेका छन् । ‘किनकी भावी पुस्ताले फेन्सिङलाई पहिलो रोजाइको खेल मान्ने गरी विकास होस् भन्ने चाहन्छौं,’ २४ वर्षीय ओमकार भन्छन्, ‘सरकारले योजनासहित बजेट विनियोजन गर्नुपर्छ । संघले व्यवस्थापन र प्रशासनिक रुपमा चुस्तता देखाउनुपर्छ ।’

ओमकारका अनुसार फेन्सिङलाई तल्लोस्तरदेखि नै विस्तार गर्न विद्यालयस्तरमा पुग्न ढिला भइसक्यो । तर फेन्सिङ संघले वार्षिक क्यालेन्डर समेत निर्धारण गर्न नसक्नु दुःखद भएको उनी बताउँछन् । ‘मैले शिवपुरी विद्यालयमा हुँदा फेन्सिङ सुरु गरेको हुँ । अहिलेको प्रतियोगितामा वागमती प्रदेशका धेरैजसो खेलाडी शिवपुरीकै छन्,’ उनी भन्छन्, ‘यो खेललाई विस्तार गर्ने हो भने हामीले विद्यालयस्तरमा कार्यक्रम सञ्चालन गर्नैपर्छ ।’ विद्यालयस्तरमा कार्यक्रम लैजाने हो भने ११/१२ वर्षको बच्चाले फेन्सिङ खेल्न सुरु गर्ने र १८/२० वर्षको उमेरमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न अनुभव पुग्ने उनी बताउँछन् ।

फेन्सिङ संघका महासचिव श्रेष्ठले भने ओलम्पिक कमिटीसँग मिलेर ग्रासरुट कार्यक्रमअन्तर्गत विद्यालयस्तरमा फेन्सिङको प्रचार र विस्तारका लागि योजना बनिरहेको जानकारी दिए ।

के हो फेन्सिङ ?

झट्ट हेर्दा अन्तरीक्ष यात्रीजस्तो बनेर दुई व्यक्तिबीच प्रतिस्पर्धा हुने फेन्सिङ खेल १५औं शताब्दीबाट फौजी संगठनमा सीमित रहने गरी सुरु भएको खेल हो । यसको सुरुवात कसले गरेको भन्नेबारे जर्मनी र इटलीबीच विवाद छ । ऐतिहासिक प्रमाणका आधारमा १५औं शताब्दीको अन्त्यतिर जर्मनीको फ्र्यांकफर्टमा पहिलोपल्ट यो खेलको प्रतियोगिता आयोजना भएको थियो । सुरुवात जहाँबाट भए पनि फ्रान्सले यो खेलको प्रचार, विकास र विस्तार गरेको हो । यो खेलमा प्राविधिक शब्दहरु फ्रेन्च भाषाकै छन् ।

फेन्सिङका तीन विधा छन् । इपी, फोइल र स्यावर । यो खेलका लागि जिन्सको शुट, टाउकोको सुरक्षाका लागि मास्क (हेलमेट पनि बुझ्न सकिन्छ) र तरवार आवश्यक पर्छ । १४ मिटर लामो र १.५ देखि २ मिटरसम्म चौडाइको खेलस्थल (जसलाई पिस्ट भनिन्छ)मा दुई खेलाडीले दुईतिरबाट तरबारले शरीरमा प्रहार गर्नुपर्छ ।

इपी विधामा तरबारले शरीरका जुनसुकै स्थानमा छोए पनि सेन्सरको सहायताबाट अंक आउँछ । तर, अंक आउनका लागि तरबारले ५०० ग्राम तौलजत्तिकै बल लगाएर प्रहार हुनुपर्नेछ । एकपल्टमा एक अंक हुनेछ । तीन मिनेटको समयमा जसले पहिला ५ अंक पुर्‍याउँछ, उसैले खेल जित्नेछ । तर, नकआउट चरणका लागि भने १५ अंक आवश्यक हुन्छ ।

फोइल विधाका लागि शरीरमा एउटा विशेष इलेक्ट्रिक ज्याकेट लगाइएको हुन्छ । तरबारले सोही ज्याकेटको एरियामा मात्र प्रहार गर्नुपर्छ ।

स्यावर विधाका लागि इलेक्ट्रिक ज्याकेट, दुवै हात र टाउकोमा पनि प्रहार गर्न पाइन्छ । अर्थात कम्मरभन्दा माथि जुनसुकै स्थानमा तरबारले प्रहार गर्दा पनि मान्यता पाइन्छ ।

महिला र पुरुष एकल तथा टिम स्पर्धा गरी १२ स्पर्धामा प्रतियोगिता सन्चालन हुने गरेको छ । यो खेललाई मार्सलआर्टको सबैभन्दा सुरक्षित खेलको रुपमा दावी गरिएको छ । ‘टाउकोदेखि खुट्टासम्म सम्पूर्ण सुरक्षा उपकरण लगाएर खेलिने भएकाले यसमा इन्जुरीको जोखिम हुँदैन,’ संघका महासचिव श्रेष्ठले भने ।

फेन्सिङ खेल मार्सलआर्टअन्तर्गत ‘कम्ब्याट खेल’ नै भए पनि तेक्वान्दो, कराँतेजस्तो लोकप्रिय छैन । त्यसको कारण यो पश्चिमा मार्सलआर्टबाट विकसित भएको खेल हो । रुसमा विकास भएको साङ्वो पनि मार्शलआर्ट नै हो तर त्यसको चहलपहल नेपालमा खासै सुनिंदैन । फेन्सिङ पनि त्यस्तै भएको हो ।

कम लोकप्रिय हुनुको अर्को करण चाहिं यो खेल सुरुवातदेखि नै सीमित समुदायमा खुम्चियो । सम्भ्रान्त मुलुकका शासक वर्गको पारिवारीक खेलजस्तो हुन गयो । त्यसबाहेक यो खेलमा अन्य मार्सलआर्टको तुलनामा खर्च पनि बढी छ ।

कराँतेमा तपाईंलाई एउटा गी किन्नुहुन्छ, बक्सिङमा ग्लभ्स, सिंगगार्ड र गम गार्ड किन्नुहुन्छ । त्यतिले पर्याप्त हुन्छ । तर फेन्सिङको सामान धेरै पनि छ र महँगो पनि छ । ती सामानहरु खेलाडीले व्यक्तिगत रुपमै ल्याउनुपर्ने हुन्छ । त्यो कारणले पनि हामी धेरै समुदायमा प्रवेश गर्न सकेका छैनौं । तर सुरुवातदेखि अहिलेसम्म हेर्ने हो भने हामी विकासकै चरणमा छौं । सुस्त गतिमै भए पनि राम्रै भइरहेको छ ।

पछिल्लो समय १३ औं सागमा हाम्रो राम्रो नतिजा थियो । एक्स्पोजर पनि राम्रो भएको थियो । त्यतिबेला खेलाडीको संख्या पनि बढेको थियो । त्यसपछि कोरोना महामारीले सुस्ताउन पुग्यो । तीन वर्षसम्म प्रतियोगिता हुन नसक्दा आएका खेलाडीहरु पनि पलायन भए ।

अहिले पुनः गतिविधि बढ्न थालेको छ । यो हाम्रा लागि नयाँ खेल भएको हुनाले कतिपय खेलाडीले सिधै राष्ट्रिय प्रतियोगिता खेलिरहेका छन् । खेलाडीलाई अवसर पनि धेरै छ । हामीलाई दक्षिण एसियाली स्तरमै नयाँ मार्सलआर्टको इभेन्ट भएको हुनाले अवसरहरु धेरै छ । जहाँसम्म महँगो खेल सामाग्रीको कुरा छ त्यसमा सरकार र खेलाडीले ५०/५० प्रतिशत व्यहोर्ने गरी खेलाडीलाई आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्न सकियो भने यो खेलको लोकप्रियता अझै बढाउन सकिन्छ ।

अधिकांश खेलाडीहरु यहाँनेर मुर्खतापूर्ण काम गरिरहेका छन् । सबैभन्दा महत्वपूर्ण समय यहाँ लगाइरहेका छन् । तर, हामी किन मुर्ख भइरहेका छौं भने अहिले हामीले यो अवस्था गुजार्‍यौं भने भावी पुस्तालाई एउटा प्रेरणा दिन सक्छौं ।

संघको कमजोरी के देखिन्छ भने हामीसँग वार्षिक क्यालेन्डर नै छैन । दक्षिण एसियामै बंगलादेश, श्रीलंकाजस्ता देशहरुमा वार्षिक क्यालेन्डर बनाएर प्रतियोगिता, प्रशिक्षणको व्यवस्था मिलाइएको हुन्छ । यो खेलाडीले, यो प्रतियोगिता खेल्ने, वैदेशिक सहभागिता पनि निश्चित हुन्छ । क्यालेन्डर बनाएर लागु गर्न सकियो भने खेलाडीले पनि एउटा लक्ष्य निर्धारण गरेर तयारी सुरु गर्न सक्छ ।

संघले विद्यालयस्तरमा फेन्सिङको विस्तार कार्यक्रम सञ्चालन गर्नुपर्छ । जस्तै मैले शिवपुरी स्कुलबाट सुरु गरेको थिएँ । अहिले यो प्रतियोगितामा वागमती प्रदेशका अधिकांश खेलाडी यही विद्यालयमा अध्ययन गरेका छात्रछात्रा छन् । ग्रासरुटबाटै खेलको प्रचार गर्न सकियो भने सानै उमेरदेखि खेलाडीलाई अनुभव दिलाउन सकिन्छ । ११ वर्षको उमेरमा सुरु गरेको खेलाडीले २० वर्षमा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्दा धेरै अनुभव हासिल गरिसकेको हुन्छ । त्यस्ता खेलाडीबाट हामीले अपेक्षा गर्न सक्छौं ।

सरकारबाट हामी आर्थिक सहयोग गर्नुपर्छ भने संघबाट व्यवस्थापन र प्रशासनिक काम गर्नुपर्छ । सरकारले योजनावद्ध रुपमा आर्थिक सहयोगसहित बजेट तर्जुमा गरेर विनियोजन गर्न सकियो भने हामीले दक्षिण एसियाली स्तरमा पदक ल्याउन सक्छौं । फेन्सिङमा १२ स्वर्णको अवसर हुन्छ । त्यसमध्ये ५ देखि ७ स्वर्ण जित्न सक्यौं भने पनि हाम्रो लागि ठूलो सफलता हुनेछ ।

खेलमा भविश्य छैन भने कुनै पनि अभिभावकले आफ्ना सन्तानलाई खेल्न पठाउँदैन । अरु प्रदेशको त म भन्न सक्दिनँ । आर्मी, एपीएफ विभागीय टोली भए, उनीहरुलाई राखेकै खेल्नका लागि हो । वागमती प्रदेशको हकमा सबै खेलाडीहरु यहाँ किन छन् भने उनीहरु खेललाई माया गर्छन् । फेन्सिङ उनीहरुको प्यासन हो, न कि आम्दानीको स्रोत । उनीहरु यो खेलमा भविश्य छ भनेर खेलिरहेका छैनन् ।

जहाँ भावना र मायाको कुरा आउँछ त्यहाँनेर मानिसहरु कहिलेकाहिं मुर्ख्याईं गर्न पुग्छन् । त्यसैले अधिकांश खेलाडीहरु यहाँनेर मुर्खतापूर्ण काम गरिरहेका छन् । सबैभन्दा महत्वपूर्ण समय यहाँ लगाइरहेका छन् । जति समय दिएका छन् त्यसअनुसारको प्रतिफल त परै जाओस् प्रतियोगिता नहुँदा आफ्नै खेलमा पनि सुधार भएको छैन । खेलाडीको हैसियतमा हेर्दा त यो एउटा मुर्खतापूर्ण निर्णय नै त हो ।

तर, हामी किन मुर्ख भइरहेका छौं भने अहिले हामीले यो अवस्था गुजार्‍यौं भने भावी पुस्तालाई एउटा प्रेरणा दिन सक्छौं । भोलिका दिनमा सरकार र संघका तर्फबाट निर्णायक पहल भएको खण्डमा हाम्रो लगानीको प्रतिफल आउने आशामा छौं । त्यही आशामा हामी हाम्रो करिअर त्यागेर यहाँ लागेका छौं ।

सरकार र खेल संघजस्तै खेलाडीको पनि आफ्नो जिम्मेवारी र उत्तरदायित्व हुन्छ भन्ने कुरा हामीले बुझेका छौं । हामी प्रदेशका खेलाडीहरु कुनै प्रतिफलको आशा नगरी आफ्नो जिम्मेवारी निभाइरहेका छौं । किनभने भावी पुस्तालाई हाम्रोजस्तो कठिन स्थिति नआओस् । उनीहरु आफूले गरेको लगानीअनुसारको प्रतिफल पाउन् ।

कोभिडको लामो विश्रामपछि हामीले राष्ट्रिय प्रतियोगिता खेल्न पाएका छौं । हाम्रो लागि सबैभन्दा खुसीको कुरा नै प्रतियोगिता आयोजना हुनु हो । तीन वर्षपछि प्रतियोगिता भयो, देशभरिका खेलाडीबीच प्रतिस्पर्धा हुन पायो । यसले हाम्रो स्तर मापन भएको छ । खेलमा हार–जित त भइहाल्छ ।

मेरो अनुभवमा हाम्रो स्तर सुधार भएको रहेनछ । तर १३औं सागको स्तरबाट झरेको पनि रहेनछ । यो खुसीको कुरा हो । ममात्र होइन, साग खेलेका अन्य खेलाडीहरुले पनि त्यो स्तरलाई कायम राख्न सकेका रहेछन् ।

एसियाली खेलकुदका लागि अहिलेसम्म जति समय दिएको छु, त्यसलाई अवश्य बढाउनुपर्छ । संघको तर्फबाट हामीलाई तयारीको सम्पूर्ण वातावरण मिलाइदिनुपर्छ । तीन इभेन्टका लागि अनुभवी प्रशिक्षक चाहिन्छ । सरकारको तर्फबाट राम्रो बजेटको व्यवस्था गरिदिनुपर्छ । बजेटको कार्यान्वयन भएको छ कि छैन भनेर पनि अनुगमन गर्नुपर्छ । त्योभन्दा ठूलो कुरा तिमीहरु यो खेलमा लागेपछि भविश्य छ भनेर विश्वस्त हुने वातावरण संघ र सरकारले सिर्जना गरिदिनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित ख