Latest News
Kathmandu

वसन्त ऋतुलाई स्वागत गर्ने आरुको कथा

वसन्त ऋतुलाई स्वागत गर्ने आरुको कथा

काठमाडौं । काठमाडौंका सडक वरपर यतिबेला सेता, गुलाबी र रातो रङका फूलले रंगीचंगी देखिएका छन् । सडकका दायाँबायाँ रोपिएका आरु प्रजातिका बोटमा फूल फुल्न थालेसँगै काठमाडौं सहरलाई वसन्त ऋतुको सौन्दर्यले छोपेको छ ।

नेपालमा १५ किसिमका आरु प्रजाति (प्रुनस) पाइन्छन् । केही फल र केही बोट सजावटका लागि प्रयोग गर्ने गरिएको छ । उपत्यकाका सडकहरूमा प्रुनस प्रसिका, प्रुनस सेरासोइड (पैयुँ), प्रुनस सेर्सीफेराका विभिन्न उपप्रजाति रोपिएका छन् । यी प्रजातिहरु व्यवसायिक रूपमा उत्पादित छन् ।

वाग्मती प्रदेश मातहतको गोदावरीस्थित राष्ट्रिय पुष्प विकास केन्द्रका प्रमुख सुधीर श्रेष्ठका अनुसार उपत्यकाका सडकमा सेतो, रातो र गुलाबी रंगका आरु प्रजातिहरू रोपिएको छ । यी फूल फुल्ने रूखहरूमा फल लागे पनि नखाइने गरेको उनले बताए । ‘यो फूल फुल्ने आरुको उपप्रजातिको फल अलिक तीतो हुन्छ, त्यही भएर खाइँदैन,’ श्रेष्ठले कान्तिपुरसित भने ।

केन्द्रले हरेक वर्ष २/३ हजारको संख्यामा आरु प्रजातिका बिरुवा उत्पादन गर्छ । ७५ देखि ६ सय रुपैयाँ प्रतिगोटाका दरले केन्द्रले आरुका बिरुवा बेच्दै आएको छ । उपत्यकाका सडकहरूमा पनि केन्द्रले नै उपलब्ध गराएका बिरुवाहरू रहेको उनले बताए । केन्द्रले प्रुनसकै अन्य प्रजाति आरु बखडा र पैयुँ पनि हुर्काएर बेच्ने गरेको छ ।

आरु प्रजातिमा चीनको साउथ चाइना एग्रिकल्चर युनिभर्सिटीमा विद्यावारिधि गरिरहेका दीपक खड्का भन्छन्, ‘आरु फुल्न थालेपछि वसन्त ऋतु सुरु भएको मानिन्छ, पैयुँ फुल्न थालेपछि हिउँद ।’

उनका अनुसार आरु प्रजातिका बोटमा फूल फुल्न थालेपछि विस्तारै पातहरू पलाउन थाल्छ । ‘जाडोयाममा यिनीहरूको पात झरिसकेको हुन्छ । वसन्तको सुरुवात भएसँगै फुल्न थाल्छन्, अनि विस्तारै पात पनि पलाउन थाल्छ,’ उनले भने । आरु र आरु बखडा खान मिल्ने भए पनि यिनका उपप्रजातिहरू बागबानीमा प्रयोग हुने गर्छ ।

काठमाडौंका सेतो रङमा फुल्ने चाहिँ प्रुनस सेरुलत्ता हो । यसलाई जापनिज चेरी पनि भन्ने गरिएको खड्काले बताए । रातो रङमा फुल्ने चाहिँ प्रुनस मुम प्रजाति हो । गुलाबी रङमा फुल्ने प्रुनस बिल्रेना हो । यो प्रुनस सिरेसिफेरा र प्रुनस मुमको हाइब्रिड भएको उनले बताए । यी प्रजातिका पातहरूमा स–साना ग्रन्थी हुन्छन् र बोक्रा (पत्र) चम्किलो हुने गर्छ ।

पूर्वदेखि पश्चिम नेपालको १ हजारदेखि ४ हजार मिटरको उचाइमा आरुका प्रजाति पाइन्छन् । कतिपय तराई क्षेत्रमा पनि पाइन्छन् । आरु बखडा हजार मिटरमाथिको उचाइमा पाइने खड्काले बताए । आरुका खान मिल्ने प्रजातिहरू व्यापारको हिसाबले तराई क्षेत्रमा रोपिन्छ ।

‘नेपालमा पाइने आरु प्रजातिमध्ये चारवटा रैथाने हुन् । प्रुनस हिमाली क्षेत्रमध्ये रसुवामा मात्रै पाइन्छ । रसुवाको गोसाइँकुण्ड ट्रेलको चन्दनबारी क्षेत्रमा यो प्रजाति पाइन्छ,’ खड्काले भने । सजावटका लागि यसको फूल प्रयोग हुने बताइए पनि आफूले फेला नपारेको उनले बताए ।

जाजरकोटमा मात्रै पाइने प्रुनस जाजरकोटेन्सिस् पछिल्लो समय अनुसन्धानकर्ताहरूले खोज्दा भेटिएको छैन । यो सन् १९५२ को अक्टोबर १७ का दिन जाजरकोटबाट ब्रिटिस वनस्पतिविद् ओ पोलियमको टोलीले ३ हजार फीटको उचाइबाट नमुना संकलन गरेको थियो । तर त्यो नमुना प्रुनसका उपप्रजातिभन्दा भिन्न भेटिएका कारण एक जना जापनी वनस्पतिविद्ले प्रुनस जाजरकोटेन्सिस् नाम राखिदिएका थिए ।

सन् १९७७ मा पहिलो पटक ‘जर्नल अफ जापनिज बोटानी’ मा प्रुनस जाजरकोटेन्सिस् बारे प्रकाशित भएको थियो । तर, खड्काको टोलीले गत वर्ष जाजरकोटमा खोजी गर्दा उक्त प्रजाति फेला पार्न सकेन । नेपालको रैथाने अन्य दुई आरु प्रजातिचाहिँ प्रुनस ताप्लेजुनिका र प्रुनस तोप्केगोलान्सिस हुन् । ओलाङचुङ्गोलामा ताप्लेजुनिका र तोप्केगोलामा तोप्केगोलान्सिस पाइन्छ ।

यी चार प्रजाति स‌ंसारका अन्य मुलुकहरुमा कहीँ नपाइने खड्काले बताए । नेपालको जुम्लामा आरुका धेरै प्रजातिहरु पाइने उनले बताए । पछिल्लो समय प्राकृतिक बासस्थानमा हुर्कने आरुको फलमा किरा लाग्‍ने गरेका छन् । केकारणले किराहरू लाग्‍न थालेकोबारे अध्ययन कम छ ।

आरुको पातलाई औषधिका रूपमा प्रयोग गर्ने गरिन्छ । गाईगोरुको सिङमा घाउ हुँदा यसको पात मिचेर लगाउने गरेको पाइएको छ । ‘यो प्रजातिको पातलाई मिचेर गाईबस्तुको सिङमा लाग्ने रोग निदानका लागि प्रयोग हुँदो रहेछ । यसलाई जुका मार्ने, आउँ मासीविरुद्ध पनि प्रयोग हुने गरेको पाएको छु,’ अनुसन्धानकर्ता खड्का भन्छन् । यसभित्र के–कस्ता रसायनहरू छन् जसले रोग दिन गर्छ भन्ने सम्बन्धमा भने अध्ययन हुन भने बाँकी नै छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
१४ सांसदको मुद्दामा माधव नेपालसहित सर्वोच्चले एकै पटक अन्तिम सुनुवाइ गर्ने
पछिल्लो समाचार →
स्वायत्त मेट्रोसिटीका रुपमा काठमाडौं उपत्यकालाई विकास गरौं : पौडेल

Leave a Comment

Your email address will not be published. Required fields are marked *