Latest News
Kathmandu

नेपालगन्जमा पर्यटन प्रवर्द्धनका लागि बजेट नदिएको भन्दै सांसद राणाको आक्रोश

नेपालगन्जमा पर्यटन प्रवर्द्धनका लागि बजेट नदिएको भन्दै सांसद राणाको आक्रोश

काठमाडौँ पर्यटन मन्त्री हितबहादुर तामाङले नेपालगन्जमा पर्यटन प्रवर्द्धनका लागि बजेट नदिएको भन्दै राप्रपा सांसद धवलशमशेर राणाले आक्रोश व्यक्त गरेका छन् । शुक्रबार मन्त्रालयगत बजेटमाथिको छलफलमा सहभागी हुँदै उनले नेपालगन्जमा मानव निर्मित ताल निर्माणका लागि आफूले मन्त्रीको क्वाटरमै गएर प्रस्ताव दिए पनि बजेटमा समावेश नगरेपछि आक्रोश व्यक्त गरे ।

उनले नेपालगन्जमा २ वटा ठुलो ताल बनाएको र त्यसमा डुङ्गा चलिरहेको बताए । सांसद राणाले भने– ‘एउटा ताल बनाउनका लागि मैले पर्यटन मन्त्रीलाई एउटा योजना दिएको थिएँ, त्यो बजेटमा आएन । बजेट हेर्दा मन्त्रीहरूकै जिल्लामा गएको देखिन्छ । यो के गर्न खोज्नुभएको तपाईंहरुले ? हाम्रा ठाउँमा पनि सानो योजना हालिदिनुस् भनेर तपाईंको क्वाटरमा गएर तपाईंलाई त्यो फारम दिएको छु ।  तपाईंको सचिवले मलाई फोन गर्‍यो तर त्यो आएन । यो सरकार र बजेट तपाईंहरुको मात्रै हो । जवाफ दिनुस् मन्त्रीज्यू ।’ उनले पर्यटन, उद्योग र व्यापारका लागि दिल्ली नेपालगन्ज हवाई उडानको ठुलो महत्त्व रहेको बताउँदै नेपालगन्ज दिल्ली हवाई सेवा सञ्चालन गर्न माग गरे ।

उनले छिमेकी देशका पर्यटकलाई वास्ता नगर्ने र आएका पर्यटकलाई पनि दुःख दिने काम भइरहेको बताए ।

उनले भने– ‘अहिले चाइना र भारतका पर्यटकले विश्व छाएका छन् । हाम्रा त अगल बगलमा छन् । तर हामीले त्यो सहजीकरण गर्दैनौँ । सडक बाटोबाट भारतीय पर्यटक नेपाल आउँदा नेपालमा डाँका पसेको जस्तो व्यवहार गरिन्छ । १० ठाउँमा चेकिङ गरिन्छ । उसको कागज र सामान हेरिन्छ । हामीले हाम्रो देशमा घुम्न आउने पर्यटकलाई एउटा सम्मानका साथ, इज्जतका साथ स्वागत गर्नुपर्ने आवश्यक छ । यसमा सरकारले ध्यान दिनुपर्छ ।’

यस्तै भारतीय पर्यटकलाई पनि सरकारको नीति र प्रहरीले गर्ने व्यवहार पर्यटनमैत्री नभएको बताए ।  उनले भने– ‘हामीले के नियम गरेका छौँ भने हजार रुपैयाँभन्दा कमको मात्रै ल्याउन पाइन्छ । ५ सय रुपैयाँको नोट ल्यायो भने सिमानामा सशस्त्र प्रहरीले समातेर दुर्व्यवहार गर्छ । अनि हामीले पर्यटनका कुरा गर्छौँ । यी सब फाल्तु कुरा हुन् । मिलाउनुस्, पर्यटनमन्त्रीज्यू, प्रधानमन्त्री ज्यू, यो के तमासा गरेको ? आजकालको जमानामा खल्तीमा ५ सय रुपैयाँ नहालेर आउन भनेर हामीले के भन्न खोजेको ? हामी आफैँले पर्यटन व्यवसाय बिगारिरहेका छौँ कि अरू कसैले बिगार्न लगाइरहेको छ ?’

उनले भारत र चीनका पर्यटक ल्याउनका लागि विशेष कार्यक्रम बनाउन माग गरे ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
श्रीलंकाको अर्थतन्त्र सन् २०२६ मा तीन प्रतिशत पुग्ने : विश्व बैंक
पछिल्लो समाचार →
प्रूडेन्सियल क्यापिटलको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

Leave a Comment

Your email address will not be published. Required fields are marked *